Loving nepal news

Monday, February 1, 2010

उच्चस्तरीय संयन्त्र बैठक

काठमाडौँ, १८ माघ

उच्चस्तरीय राजनीतिक संयन्त्रको आज बसेको बैठकले यसअघि तीन दल सम्बद्ध कार्यदलले प्रस्तुत गरेको सङ्कल्प प्रस्तावको मस्यौदामाथि अझै छलफल गरी सहमतिमा पुग्ने निर्णय गरेको छ ।
नेपाली काङ्ग्रेसका सभापति गिरिजाप्रसाद कोइराला निवास महाराजगञ्जमा बसेको सो बैठकमा कार्यदलले यसअघि नै प्रस्तुत गरेको साझा सङ्कल्प प्रस्तावमा उल्लिखित सहमतिका बुँदामाथि नै छलफल भएको र त्यसबारे आगामी बिहीबार बस्ने अर्को बैठकमा अझै छलफल गरी टुङ्गोमा पुग्ने निर्णय भएको तीनै पार्टी नेताहरूले जानकारी दिए ।

नेकपा -एमाले)का अध्यक्ष झलनाथ खनालले कार्यदलले यसअघि नै प्रस्तुत गरेका बुँदामा केही विवाद भएकाले यसबारे अझै छलफल गर्न बाँकी रहेको भन्दै अर्को बैठकमा पुनः छलफल गर्ने सहमति भएको बताउनुभयो । उहाँले राज्य पुनर्संरचनासम्बन्धी आयोग निर्माणमा 'अण्डरस्ड्याण्डिङ' गरेर अघि बढ्ने सहमति भएको जानकारी दिनुभयो ।
एकीकृत नेकपा -माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरूले बैठकमा राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रपतिले आफनो कदम सच्याउने गरी र्सार्वजनिक अपिल गर्नुपर्ने, राष्ट्रपतिको कदम कुनै न कुनै रूपमा सच्चिनुपर्ने या राष्ट्रपतिलाई अहिले प्राप्त अधिकारको सुरक्षा गर्दै अन्तरिम संविधानमा संशोधन गरिनुपर्ने कुरा राखेको जानकारी दिनुभयो ।
उहाँले काङ्ग्रेस र एमाले सहमतिमा आउने सकारात्मक सङ्केत पाएर नै आफ्नो पार्टी पाँचौँ चरणको आन्दोलन घोषणा नगरेको बताउँदै सञ्चारकर्मीहरूसँग भन्नुभयो-'उच्चस्तरीय संयन्त्रले सहमति निकाल्नेप्रति सकारात्मक छौँ, त्यतिञ्जेलसम्म द्वन्द्व हुनेखालका आन्दोलन गर्दैनौं, तर शान्ति, नयाँ संविधान निर्माण, राष्ट्रिय स्वाधीनता र नागरिक सवोच्चताका लागि जनपरिचालन गर्न छाड्दैनौँ ।'
नेपाली काङ्ग्रेसका प्रवक्ता अर्जुननरसिंह केसीले आजको बैठकमा पनि घुमाइफिर्राई राष्ट्रपतिको कदम सच्चिनुपर्ने आएको बताउँदै भन्नुभयो-'यसबारे बैठकमा संसदमा राष्ट्रपतिमाथि महाअभियोग लगाउनमात्र सकिन्छ, सङ्कल्प प्रस्तावमार्फ तान्न सकिँदैन भन्ने हाम्रो अडान कायम नै छ भन्यौं ।'
काङ्ग्रेस पनि राष्ट्रपतिको अधिकारक्षेत्रबारे संविधान संशोधन गर्न सकिने पक्षमा रहेको बताउँदै उहाँले साझा सङ्कल्पमाथि नै थप छलफल गरेर निष्कर्षा पुग्नुपर्छ भन्नुभयो ।
एक अर्को प्रसङ्मा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता केसीले माओवादी र एमालेले संस्थागत प्रस्ताव ल्याए काङ्ग्रेस सरकारको नेतृत्व गर्न तयार हुने बताउनुभयो ।
उहाँले आजको बैठकमा माओवादीले सरकार परिवर्तनबारे प्रस्ताव ल्याएको बताए पनि अध्यक्ष खनाल र उपाध्यक्ष श्रेष्ठले भने यसबारे छलफल नभएको दाबी गर्नुभयो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks