Loving nepal news

Monday, February 1, 2010

बिरोधको डरमा राष्ट्रपतिको सबै कार्यक्रम स्थगित

माओवादीले तीव्र दवाब दिएर देवघाट क्षेत्र विकास समितिको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम पनि स्थगित गर्न बाध्य बनाएको
विनोदबाबु रिजाल चितवन, १७ माघ

यही माघ १९ गते चितवनमा हुने भनिएको राष्ट्रपति डा. रामवरण यादवको सबै कार्यक्रम माओवादीको तीव्र दवाबपछि स्थगित भएका छन् । माओवादीले कालो झण्डा सहित कार्यक्रम नै बिथोल्ने धम्की दिएपछि उद्योग वाणिज्य संघ नारायणगढको स्वर्ण महोत्सवसँगै तीन महत्वपूर्ण कार्यक्रम आइतबार स्थगित गरिएका हुन् । सोही दिन राष्ट्रपति डा. यादव बालकुमारी उच्च मावि नारायणगढ र देवघाट क्षेत्र विकास समितिको नवनिर्मित भवन उद्घाटन गर्न चितवन आउन लाग्नुभएको थियो ।
उद्योग वाणिज्य संघ नारायणगढले आइतबार विज्ञप्ति जारी गरी राष्ट्रपति सचिवालयबाट हाल राष्ट्रपति आउन नसक्ने जानकारी प्रँप्त भएकाले कार्यक्रम स्थगित गरिएको बताएको छ। संघका अध्यक्ष मित्रराज दवाडीद्वारा जारी विज्ञप्तिमा स्वर्ण जयन्तिका अवसरमा आयोजित सबै कार्यक्रम स्थगित गरिएको जनाइएको छ । उता माओवादीले तीव्र दवाब दिएर देवघाट क्षेत्र विकास समितिको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम पनि स्थगित गर्न बाध्य बनाएको छ । कार्यक्रम स्थगित गर्न मौखिक तथा लिखित रुपमै पटक-पटक दवाब दिइए पनि नमानेपछि माओवादीले क्षेत्र विकास समितिको कार्यालयमा आइतबार मात्र ताला लगाएको थियो ।
अरु दुई कार्यक्रम स्थगित भएपछि बालकुमारी उच्च माविले समेत आफ्नो कार्यक्रम अनिश्तितकालका लागि सारेको छ । आइतबार बसेको बैठकले राष्ट्रपति आउन नसक्ने भएपछि नवनिर्मित भवनको उद्घाटन कार्यक्रम स्थगित गरेको जनाएको छ । एकीकृत नेकपा माओवादीले राष्ट्रपतिको कार्यक्रम स्थगित गर्न लिखित रुपमै तीनै आयोजकलाई दवाब दिएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks