काठमाडौं, १९ माघ (दैनिकी)
नेपाल राष्ट्र बैंक आजदेखि गभर्नरविहीन भएको छ । विजयनाथ भट्टराईको पदावधि आइतबारदेखि सकिएपछि राष्ट्र बैंक गभर्नरविहीन भएको हो । हाल कार्यरत डेपुटि गभर्नर कृष्णबहादुर मानन्धरले कायम मुकायम गभर्नरको रुपमा काम सम्हाल्नुभएको छ ।
नयाँ गभर्नर नियुक्तिमा दलहरुबीच विवाद भएपछि केही दिन राष्ट्र बैंक गभर्नरविहीन हुने पक्का छ । सरकारको निर्णय प्रक्रियामा उत्पन्न हुने विवाद गभर्नर छनोट प्रक्रियामा पनि देखिएको छ । जसको कारण सोमवारदेखि मुलुक गर्भनर विहीन भएको हो ।
सरकारमा रहेका मुख्य राजनीतिक पार्टी एमाले र काग्रेस कसलाई गभर्नर बनाउने भन्ने विषयमा सहमतीमा पुग्न नसक्दा गर्भनर नियुक्तिमा ढिलाई भएको हो ।
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर विजयनाथ भट्टराईको समयावधि पूरा भइसक्दा पनि नयाँ गभर्नरको छनौट गर्न सकेको छैन। सामान्यतयः पद रिक्तको एक महिनाअगाबै सरकारले नयाँ गभर्नरको सिफारिस गर्नुपर्नेमा गभर्नर छनौटको लागि सिफारिस समिति गठन गरेपछि पनि पदावधि सकिदासम्म नयाँ गभर्नरको सिफारिस गर्न सकेन ।
अर्थमन्त्री सुरेन्द्र पाण्डेको संयोजकत्वमा रहेको गभर्नर छनौट समितिको बैठक सोमबार पनि बस्न सकेन। गभर्नर छनौटको विषयलाई लिएर यतिबेला सत्तारुढ दलहरुबीच आन्तरिक विवादसमेत रहेको छ। नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य पूर्व गभर्नर गणेशबहादुर थापाले राष्ट्र बैंक बुझेको वित्तीय नेतृत्व गर्न सक्ने राजनीतिकभन्दा फरक व्यक्तिको चयन हुनुपर्ने बताउनुभयो।
मुलुकको अर्थतन्त्रलाई बुझ्ने योग्य व्यक्तिको नाम चयन गरिने गभर्नर छनौट समितिका अर्का सदस्य अर्थविद् डा भोलानाथ चालिसेले बताउनुभयो।
गभर्नर छनौट समितिलाई कुनै दबाब र हस्तक्षेप नरहेको छनौट समितिका सदस्यहरुको भनाइ रहेको छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks