संविधान जारी गर्न ९० दिन बाँकी रहँदा समेत संविधान निर्माणका लागी दलहरु गम्भीर नभएको
केशव सावद कञ्चनपुर,१२ फागुन
नेपाली काँग्रेसका नेताहरुले विगतमा भएको १२ बुदे सहमतिलाई एकिकृत नेकपा माओवादीले रणनीतिका रुपमा लिएर अगाडी बढेको आरोप लगाएका छन। प्रेस युनियन कञ्चनपुरले आज बिहान सदरमुकाम भीमनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी काँग्रेस महामन्त्री केबि गुरुङ सहितका केन्द्रीय नेताहरुले तत्कालिन नेकपा माओवादी र सात राजनीतिक दलहरुबीच भएको १२ बुदे समझदारीलाई इमान्दारीताका साथ अघि बढाउनुको साटो माओवादीले रणनीतिक रुपमा लिदै सत्ता कब्जा गर्ने सोच मात्रै राखेको आरोप लगाउनुभएको हो। पत्रकार सममेलनमा केन्द्रीय सदस्य एवम् पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले विगतमा कब्जा गरिएका सम्पत्ति फिर्ता, विस्थापितहरुलाई घर फर्काउने, वाईसिएलको अर्धसैन्य संरचना भंग गर्ने, लडाकुको समायोजन गर्ने लगायतका १२ बुदे समझदारीलाई इमान्दारीताका साथ पालना गरेर अघि बढ्नुको साटो माओवादी अराजक क्रियाकलाप गर्दै सत्ता कब्जाको योजनामा मात्रै रहेको आरोप लगाउनुभयो। उहाँले सहमति कार्यान्वयन नभएकाले अब १२ बुदे समझदारीको कुनै औचित्य समेत नरहेको स्पष्ट पार्नुभयो। त्यस्तै महामन्त्री केबि गुरुङ्गले संविधान जारी गर्न ९० दिन बाँकी रहँदा समेत संविधान निर्माणका लागी दलहरु गम्भीर नभएको भन्दै समयमै संविधान नबने दलहरुकौ अस्तित्व नै समाप्त हुने बताउनुभयो। उहाँले माओवादीले विगतमा गरेका सहमति कार्यान्वयनका लागी गम्भीर नहुदा समस्या खडा भएको आरोप लगाउनुभयो। अर्का केन्द्रीय सदस्य सुनिल भण्डारीले माओवादीको सहभागिता बिना संविधान नबन्ने दाबी गर्दै माओवादीलाई संविधान निर्माणका लागी गम्भीर हुन आग्रह गर्नुभयो। केन्द्रीय सदस्य विनयध्वज चन्दले माओवादीले विगतमा भएका सहमति कार्यान्वयन नगरेसम्म संविधान निर्माण गर्न नसकिने बताउनुभयो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks