छायांकन अन्तिम चरणमा
अजयकुमार साह २८ पुष
नेपाली चलचित्र उद्योगले दिनानुदिन तीव्र फड्को मारि रहेको छ । राजधानीमै केन्दि्रत रहेर फिल्म निर्माण गर्ने परम्परा विस्तारै विकेन्द्रीत हुँदै गएको छ । मोफसलमा पनि फिल्म निर्माण गरेर व्यावसायिकता अपनाउन सकिन्छ भन्ने प्रमाण धनुषा, जनकपुरका सिनेकर्मीहरुले केही वर्ष अघि नै दिइसकेका छन् । त्यसो त जनकपुर केन्द्रीय स्तरका फिल्महरुको सुटिङ थलो पनि बन्दै आएको छ ।
चाहे नेपाली भाषामा होस् या मैथिली भाषामा वा अन्य जातजातिका भाषामा होस् जनकपुरमा फिल्म निर्माण गर्नेको होड तीव्र देखिएको छ । यही सिलसिलामा हालै सार्क फ्रेन्डशीप फिल्मस्को व्यानरमा मगर भाषाको चलचित्र निर्माण गरिन लागिएको छ । सार्क फ्रेन्डशीप फिल्मस् व्यानरको पहिलो प्रस्तुती 'कानुङ्ग क्रान्ती' को छायाँकन कार्य तिब्र रुपमा भइरहेको छ । यस चलचित्रमा धनुषा, सर्लाही, र महोत्तरीका कलाकारहरुको बाक्लो अभिनय रहेको छ ।
कानुङ्ग क्रान्ती सामाजिक एवं राजनीतिक घटनाक्रममा आधारित जनकपुर अंचलबाट निर्माण हुन लागेको पहिलो मगर भाषाको चलचित्र हो ।
मगरजातिमा भएका इमान्दारीता, सोझोपन अनि मगर कला संस्कृतिको जगेर्ना गर्दै समाजमा भएका अन्धविश्वास, छुवाछुत, विकृति, विसङ्गतिको विरुद्धमा आवाज उठाइएको चलचित्र कानुङ्ग क्रान्तीले मगर समाजलाई नजिकबाट चिनाउने प्रयास गरेको छ । सामाजिक अन्धविश्वास र कुरिती विरुद्ध मगर भाषामा आधारित चलचित्र "कानुङ्ग क्रान्ती" को धनुषाको बेंगाडावरमा शुभमुर्हत गरिएको थियो भने सिन्धुली, धनुषा, महोत्तरी, बारा, पर्सा लगायत तराईकै जिल्लाहरुमा यसको छायाँकन गरिंदै छ ।
उपन्यासकार तथा साहित्यकार भुवन थापाको निर्माण, लेखन, निर्देशन, कथा तथा पटकथा रहेको चलचित्र 'कानुङ्ग क्रान्ति' को कार्यकारी निर्देशन भरत राज थापा मगरको रहेको छ । 'कानुङ्ग क्रान्ती' मा रमेश खडकाको प्राविधिक निर्देशन, राजकुमार बगरको गीत, नवराज बखतीको साजसज्जा , संजय राउतको छायाँकन र बिनोद सापकोटाको सहायक छायाँकन रहेको यस चलचित्रमा योगी समालले नायकको भूमिका निभाएका छन् भने एडिना थापा मगरले नायिकाको भूमिकामा देखा परेकी छिन् । मगर जातिको संस्कृति परम्परामा आधारित यस चलचित्रमा विरु लुंगेली, गीता ठाडा, शर्मिला रमौली, तिलक सारु, प्रताप सिंह आले, नीरमाया आले, गोपाल थापा लगायतका कलाकारको अभिनय रहेको छ । साथै चलचित्र कानुङ्ग क्रान्तीमा सागर बलम्पाकीले सह-नायक र मिमन पुलामीले सह-नायिकाको भूमिका निभाएका छन् ।
चलचित्र कानुङ्ग क्रान्तीले मगर जातिको धर्म, परम्परा, संस्कृति, रितीरिवाजलाई आम दर्शकका सामु प्रस्तुत गर्ने प्रयास गरेको छ । र यसले नेपाली संस्कृतिको समेत जगेर्ना गर्ने भएकाले चलचित्रले व्यावसायिकता पाउने निश्चित रहेको निर्माता/निर्देशक भुवन थापाले बताए ।
करिब एक दर्जन नेपाली उपन्यास मार्फत आफ्नो कुशल साहित्यको परिचय दिई सकेका निर्माता/निर्देशक थापाको रंगमंचमा पहिलो अनुभवको रुपमा मगर भाषाको यो चलचित्र रहेको छ । मगर समुदायमा जाड, रक्सी खानमै सम्पती नष्ट गरिरहेको समाजको यर्थाथलाई चित्रण गर्ने जमर्को गरेको यस चलचित्रले गरेको छ ।
करिब १० लाखको लागतमा निर्माण हुन लागेको यस चलचित्रको करिब ८० प्रतिशत छायांकन सम्पन्न भइसकेको बताउँदै निर्माता/निर्देशक थापाले चलचित्र माघको पहिलो साता देखि प्रदर्शनमा आउने जनाए । थापाले मगर भाषाको यो चलचित्रको छायांकन सम्पन्न भएर प्रदर्शन हुनासाथ यहि कथावस्तुको नेपाली भाषामा 'क्रान्तिबीर' नामक चलचित्र निर्माण सुरु गरिने समेत जानकारी गराए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks