Loving nepal news

Wednesday, January 20, 2010

संविधान निर्माणका लागि देशव्यापी अभियान

विनोदबाबु रिजाल चितवन, ६ माघ

नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले नयाँ संविधान निर्माणका लागि देशव्यापी अभियान थालेको छ । समयमै संविधान निर्माण गर्न व्यापक दवाब सिर्जना गर्न भन्दै अनेरास्ववियुले पहिलो चरणमा भोलि जिल्लास्तरीय भेला गर्दैछ । देशभरका प्रत्येक जिल्लामा एकैपटक हुन लागेको जिल्ला भेला चितवनमा पनि पार्टी कार्यालय भरतपुरमा गरिदैछ । अभियान बारे जानकारी दिन तथा सुझाव संकलन गर्न अनेरास्ववियु चितवनले भरतपुरमा र्सवपक्षीय अन्तरक्रिया गर्‍यो । कार्यक्रममा दिइएको जानकारी अनुसार भोलि भरतपुरमा हुने जिल्ला भेलामा र्सवपक्षीय सहभागिता रहनेछ । आगामी जेठ १४ गते भित्र जनमुखी संविधान निर्माण गरेर जारी गरिसक्नका लागि जनस्तरबाट व्यापक दवाब र सुझाव संकलन गर्न अभियान जारी रहने जानकारी अनेरास्ववियु चितवनले दिएको छ ।
कार्यक्रममा दिइएको जानकारी अनुसार अभियानको दोस्रो चरणमा विकास क्षेत्रस्तरमा आमसभा गरिनेछ । आगामी माघ २२ गते पाँच ठाउँमा गरिने क्षेत्रीय सभा मध्ये मध्यमाञ्चलको हेटौंडामा, परूर्वाञ्चलको इटहरीमा, पश्चिमाञ्चलको पोखरामा, मध्यपश्चिमाञ्चलको सुर्खेतमा र सुदूर पश्चिमाञ्चलको धनगढीमा गरिनेछ । त्यस्तै आगामी फागुन १४ गते काठमाडौमा विशाल जनदवाबसभा आयोजना गर्ने पनि अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य उत्तम अधिकारीले जानकारी दिनुभयो ।

यसैबीच अनेरास्ववियु चितवनले अभियान कसरी संचालन गर्ने भन्ने बारे विभिन्न संघसंगठनहरुसूग सुझाव समेत संकलन गरेको छ । आज आयोजित अन्तरक्रियामा उपस्थित विभिन्न क्षेत्र, तह र तप्काका व्यक्तित्वहरुले अनेरास्ववियुलाई विना भड्काउ र हल्लाको भरमा भन्दा पनि महत्वपूर्ण मुद्धामा अडानका साथ प्रस्तुत भई संविधानका लागि सकारात्मक दवाब दिनुपर्ने बताएका थिए । त्यस्तै माओवादीले जस्तै एमालेले पनि जातीय रुपमा संघको विभाजन गर्न खोजेकोमा असन्तुष्टि व्यक्त गर्दै विशुद्ध विद्याथी आन्दोलन गर्ने संगठन भएर पनि पार्टीको गलत निर्णयको समर्थन गर्न नहुनेमा समेत उनीहरुले सुझाव दिएका छन् । कार्यक्रममा बालकुमारी कलेज नारायणगढका प्रिन्सिपल चिरञ्जीवी श्रेष्ठ, सप्तगण्डकी क्याम्पसका क्याम्पस सहायक प्रमुख खेमनारायण उपाध्याय, हिसान चितवनका अध्यक्ष देवेन्द्र ढकाल, नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष भानुप्रसाद उपाध्याय, नेपाल राष्ट्रिय शिक्षक संगठनका लक्ष्मीकान्त चालीसे, नेपाल विद्यार्थी संघ चितवनका सचिव प्रकाश अधिकारी, अखिल छैंठौंका चितवन जिल्ला अध्यक्ष माधव पौडेल, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्यद्वय उत्तम अधिकारी र रमेश आचार्यले बोलेका थिए । कार्यक्रम अनेरास्ववियु चितवनका अध्यक्ष अनोज जोशीको अध्यक्षता तथा एमाले चितवनका उपाध्यक्ष कृष्णभक्त पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks