Loving nepal news

Friday, January 1, 2010

आजबाट विदेशी बैंकलाई खुला

काठमाडौं, १७ पुस(दैनिकी)

हालसम्म नेपालीसँग संयुक्त लगानीमा बैंक खोल्दै आएका विदेशी बैंकहरूले आजबाट नेपालमा शाखा खोल्न पाउने भएका छन् । नेपालले सन् २००४ को अपि्रल २३ मा विश्व व्यापार संगठनको सदस्यता लिँदा व्यक्त गरेको प्रतिबद्धताअनुसार विदेशी बैंकहरूलाई आफ्नो शाखा खोल्न बाटो खुला भएको हो । नेपालमा शाखा खोल्ने विदेशी बैंकहरूले कारोबार भने होलसेल बैंकिङ मात्र गर्न पाउनेछन् ।
सन् २००६ देखि विश्व व्यापार संगठनका प्रावधान लागू हुँदै आए पनि बैंकहरूका लागि भने सन् २०१० को जनवरी १ देखि मात्र खुला गर्ने प्रावधान रहेको थियो । विश्व व्यापार संगठनमा गरिएको प्रतिबद्धताअनुसार सन् २०१२ को जनवरीसम्म गाडीको भन्सार घटाउनुपर्ने तथा सन् २०१३ बाट बौद्धिक सम्पत्तिसम्बन्धी प्रावधान लागू हुने रहेको छ ।
विश्व व्यापार संगठनको प्रावधान लागू भएकाले नेपालमा शाखा खोल्न चाहने विदेशी बैंकले पहिलो शाखाका लागि ३ करोड अमेरिकी डलर -करिब २ अर्ब २५ करोड रुपैयाँ) पँुजी राखेर निवेदन दिनुपर्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
नेपालमा शाखा खोल्ने विदेशी बैंकहरूले थोक बंैकिङ तथा ठूला परियोजनामा मात्र लगानी गर्न पाउने व्यवस्था गर्दै राष्ट्र बैंकले विदेशी बैंकका शाखाहरूले १० करोड रुपैयाँभन्दा कमको निक्षेप संकलन गर्ने तथा ३० करोड रुपैयाँभन्दा थोरै कर्जा प्रवाह गर्न पाउने छैनन् ।
राष्ट्र बैंकले विदेशी बैंक वा वित्तीय संस्थाले नेपालमा शाखा कार्यालय खोल्नेसम्बन्धमा गरेको नीतिगत व्यवस्थामा पहिलो शाखा खोलेपछि पुनः शाखा थप गर्न चाहे विदेशी बैंकले प्रतिशाखा ५० लाख अमेरिकी डलर -करिब ३७ करोड ५० लाख रुपैयाँ) लाग्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले विदेशी बैंकको शाखाको सम्बन्धमा गरेको व्यवस्थामा नेपालमा शाखा खोल्ने बैंकले सम्बन्धित मुलुकको केन्द्रीय बैंकबाट स्वीकृति लिनुपर्ने, मुडी फिथ तथा स्ट्यान्डर्ड एन्ड पुअरजस्ता अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सीले ३ वर्षदेखि रेटिङ गरेको हुनुपर्ने व्यवस्था छ ।
विदेशी बैंकका शाखाले नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाका लागि जारी भएका निर्देशन लागू हुने सम्बन्धित मुलुकको केन्द्रीय कार्यालय बन्द, खारेज वा लिक्विडेसनमा गए नेपाल शाखाको इजाजत पनि स्वतः बन्द हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks