काठमाडौं, १ माघ (दैनिकी)
आइतबारदेखि थप अयोग्य लडाकूको विदाइ प्रकृया सुरु हुने भएको छ । अनमिनका अनुसार आइतबार ३ गते चितवनका अयोग्य लडाकू माघ ७ गते नवलपरासीका ११ गते इलामबाट १६ गते कैलालीबाट २० गते सुर्खेतबाट र २५ गते रोल्पाबाट अयोग्य लडाकूको विदाई गरिने भएको छ ।
२००७ डिसेम्बरमा सम्पन्न प्रमाणीकरण प्रक्रियामा योग्य नठहरिएका माओवादी सेनाका सदस्यहरुको संङ्ख्या ४,००८ थियो जसमा २,९७४ नावालिग र बाँकी ढिलो गरि भर्ना भएका थिए। सबै ४,००८ जना अयोग्य लडाकूको फेब्रुअरी ९ (माघ २६) सम्ममा बिदाइ भइसक्नु पर्ने सम्झौता अनुसार उनीहरुको विदाई हुन लागेको अनमिनले जनाएको छ।
नावालिगका भएको कारणले योग्य नठहरिएका २,९७४ मध्ये लगभग ५०० जना आजको मिति सम्ममा १८ बर्ष भन्दा कम उमेरका छन्। संयुक्त राष्ट्रसंघले बिदाइ भएकाहरूको ६ महिनासम्म अनुगमन गर्नेछ।
यसअघि पुस २३ गते ५५ नावालिग सहित २०१ योग्य नठहरिएका लडाकूहरू सिन्धुलीबाट बिदा भएका थिए । २००७ डिसेम्बरमा सम्पन्न प्रमाणीकरण प्रक्रियामा सिन्धुलीमा २७८ नावालिग सहित ३७२ लडाकूहरू योग्य ठहरिएका थिएनन्। तर जनवरी ७ (पौष २३) मा धेरै लडाकूहरू शिविरमा थिएनन्। उनीहरू अर्को शिविरमा हुने बिदाइ प्रक्रियामा समावेश हुन सक्नेछन्।
बिदाइ भएर जानेहरू आफ्नो घर फर्कन स्वतन्त्र छन् वा उनीहरूले रोजेअनुरूपको वैध नागरिक जीवनको शुरुवात गर्न सक्ने अनमिनले स्पष्ट पारेको छ। संयुक्त राष्ट्रसंघको सहयोगमा नेपाल सरकारद्वारा प्रदान गरिएको पुनर्स्थापना प्याकेजमा गरिने हस्ताक्षर पनि यसै अन्तर्गत पर्दछ।
पुनर्स्थापना छनौट कार्यक्रमहरू फरक- फरक समयावधीका छन्। कुनै केहि हप्ताका लागि छन् भने कुनै शिक्षाका लागी २ बर्ष वा सो भन्दा लामो अवधिसम्मका लागि छन्।
बिदाइ हुने दिनमा ती पूर्व लडाकूहरूले संयुक्त राष्ट्रसंघबाट यातायात र बाटो खर्चका लागि जनही १०,००० रुपैयाँ प्राप्त गर्नेछन्।
४,००८ बाहेक प्रमाणीकरण भएका माओवादी सेनाका सदस्यहरू लगभग १९,००० छन्। सुरक्षा बलमा समायोजन लगायत उनीहरुको भविष्यको बारेमा छलफल जारी छ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks