यज्ञमूर्ति तिमिल्सिना/पाल्पा ८ माघ
अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष रामकुमारी झाक्रीले प्रधानमन्त्रीसँग फरक मत राख्नेहरू सरकारको मन्त्रीमा बसिरहनुको कुनै अर्थ नभएको बताएकी छन्।
प्रेस चौतारी पाल्पा शाखाले शुक्रवार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष झाक्रीले केही दिन अघि रक्षा मन्त्रीले बोलेका कुराहरू प्रति लक्षित गर्दै भनिन् ‘ दाइँ पनि मियो बिना हुन सक्दैन त्यसैले पनि सरकारका लागि कुनै व्यक्ति बाधक बन्न सक्दैन।’ उनले रक्षामन्त्रीले सेनामा राजनीतिकरण गर्न खोजेको आरोप समेत लगाइन्।
पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष झाक्रीले सरकार र पार्टीका नेतृत्वदायी व्यक्तिले नै संविधान बन्दैन भनेर सार्वजनिक कार्यक्रममा बोल्नु गैरजिम्मेवार अभिव्यक्ति भएको बताइन्। पछिल्लो समय बनेको तीन ठूला दलको संयन्त्रको प्रसङ्गमा झाक्रीले भनिन् ‘संयन्त्रको विरोध गर्नेहरू सरासर दक्षिणपन्थीहरू हुन्।’
नागरिक समाजको प्रसङ्गलाई उठाउँदै उनले भनिन् ‘ हाम्रो देशमा नागरिक समाज छदैछैन, संविधानसभा र सरकारमा नागरिक समाजको प्रतिनिधित्व खोज्ने, पद र कुर्सीका लागि पछि लाग्नेहरू कदापि नागरिक समाज हुनै सक्दैनन्।’
माघ १० गतेदेखि अनेरास्ववियुले संविधान निर्माणका लागि देशव्यापी दवाव कार्यक्रम गर्ने बताउँदै अध्यक्ष झाक्रीले भनिन् ‘हामी सबै विद्यार्थी संगठनहरूसँग सहकार्य गरी अगाडि बढ्न चाहन्छौ।’
पत्रकार भेटघाट कार्यक्रम प्रेस चौतारी पाल्पाका अध्यक्ष कमलराज तिमिल्सिनाको सभापतित्व तथा सचिव राजकुमार आलेको सञ्चालनमा सम्पन्न भएको थियो।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks