अजयकुमार साह जनकपुर १३माघ
आपसी विवादका कारण दुई समूहमा विभाजित भएका रेल्वेका कर्मचारीहरुको एक समूहले रेल सेवा अनिश्चितकालका लागि बन्द गरेका छन्।
दैनिक तीन पटक सेवा प्रदान गर्दै आएको जनकपुर–जयनगर रेल सेवा बन्द हुँदा भारत तथा धनुषा जिल्लाको मध्य तथा पूर्वि क्षेत्रका जनतालाई ठूलो समस्या परेको छ। जनकपुर सदरमुकाम जोड्ने त्यस क्षेत्रका जनताको रेल सेवा एक मात्र यातायात साधन हो। रेलबाट दैनिक एक हजार भन्दा बढी यात्रुले यात्रा गर्ने गर्छन्। सेवा बन्द हुँदा रेल्वे कम्पनीलाई दैनिक झन्डै ६० देखि ८० हजार सम्मको नोक्सानी भएको छ।
समान माग लिएर आन्दोलन गरिरहेका फोरम र काँग्रेस निकटका मजदुर तथा कर्मचारीहरुले विगत दुई साता देखि धर्ना दिंदै आएकोमा गत ६ गते देखि रेल्वे महाप्रबन्धक सहित लेखा र अन्य शाखाहरुमा तालाबन्दी गरेपछि माओवादी निकट अखिल नेपाल यातायात मजदुर संघसंग आबद्ध मजदुर कर्मचारीहरुले आन्दोलनको विरुद्ध आन्दोलनको घोषणा गर्दै रेल सेवा समेत बन्द गरेका हुन्।
अखिल नेपाल यातायात संघका अध्यक्ष कपिलदेव रायले काँग्रेस निकट नेपाल रेल्वे कर्मचारी संघ र मधेसी जन अधिकार फोरम निकट मधेसी श्रमिक फोरमले रेल्वे कार्यालयहरुमा गरेको तालाबन्दी खोलेर आन्दोलन गर्न भन्दै तालाबन्दी नखोलिए संचालन भइरहेको रेल सेवा समेत बन्द गर्ने चेतावनी दिएका थिए।
नेपाल रेल्वे कर्मचारी संघ र मधेसी जन अधिकार फोरम निकट मधेसी श्रमिक फोरमले रेल्वे कार्यालयहरुमा गरेको तालाबन्दी नखोलेको कारण लेखा, प्रशासन र प्रबन्धको कार्यकक्षमा तालाबन्दी भइ नै रहेकोले रेल सेवा सञ्चालन किन हुने भनेर मंगलवार देखि सेवा पनि अनिश्चितकालका लागि बन्द गरेका अखिल नेपाल यातायात संघका अध्यक्ष कपिलदेव रायले बताए।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks