Loving nepal news

Thursday, January 14, 2010

आज सहस्राब्दीकै लामो सूर्य ग्रहण

काठमाडौं,१ माघ (दैनिकी)

तिथिका हिसाबले आज औँसी परेको छ । आजै मध्यान्ह खण्डग्रास सूर्यग्रहण लाग्दैछ । यसवर्ष परेका तीनवटा ग्रहण परेका छन् । यसअघि एउटा सूयग्रहण र अर्को चन्द्रग्रहण लागेका थिए ।
आजको ग्रहण खण्डग्रास हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृति दिइएका पञ्चाङ्गहरूमा आजको ग्रहण मध्याहृन १२ बजेर २४ मिनेटमा स्पर्श भएर ३ बजेर ४० मिनेटमा मोक्ष हुने बताइएको छ । अर्थात् आज ३ घण्टा १६ मिनेट लामो ग्रहण लाग्नेछ ।
यो तेस्रो सहस्राब्दी (ई.सं. २००१-३०००) को सबैभन्दा लामो बलय सूर्यग्रहण हो। यो बलय सूर्यग्रहण मध्य अफ्रिकाबाट सुरु भई माल्दिभ्स, दक्षिणी भारत, उत्तरी श्रीलङ्का, म्यान्मार हुदैं चीनमा गएर सकिने छ । उक्त समयमा अफ्रिकाका अन्य भू-भागहरु, पूर्वी युरोप, मध्य पूर्वी क्षेत्र एवं एसियाका अन्य भू-भागबाट भने खण्डग्रास सूर्यग्रहण देखिनेछ ।
नेपालबाट देखिने खण्डग्रास सूर्यग्रहण महेन्द्रनगरबाट दिउँसो १२:१५:३९ बजे सुरु भई १५:४३:२१ मा ईलाममा टुङ्गिनेछ । काठमाडौंमा १२:२४:०२ बजे सुरु हुने उक्त खण्डग्रास सूर्यग्रहण १५:३९:५९ मा समाप्त हुनेछ भने अधिकतम सूर्यग्रहणको समय अर्थात् १४:१०:१९ बजे चन्द्रमाले सूर्यलाई लगभग ५७.८ प्रतिशत ढाक्नेछ । यसअघि नेपालबाट बि.सं. २०२२ मा बलय सूर्यग्रहण देखिएको थियो भने आगामी बलय सूर्यग्रहण बि.सं. २१२० अघि नेपालबाट देखिने छैन।
पृथ्वीले सूर्यलाई अनि चन्द्रमाले पृथ्वीलाई परीभ्रमण गर्ने क्रममा सूर्य, चन्द्र र पृथ्वी एउटै सरल रेखामा पर्दा सूर्य ग्रहण देखिन्छ तर पृथ्वीको कक्षीय धरातलसँग चन्द्रमाको कक्षीय धरातलको ढल्काइको कारण हरेक औंशीमा भने सूर्यग्रहण देखिदैन।
पञ्चाङ्गहरूले यो ग्रहण उत्तरषाढा नक्षत्र भएका व्यक्तिहरूलाई कष्ट हुने बताएका छन् । यसैगरी वृष, मिथुन, कर्कट, कन्या,तुला, धनु र मकर राशिका व्यक्तिहरूलाई कष्ट हुने बताएका छन् । यसवाहेकका राशिवालाहरूलाई ग्रहण फलदायी हुने बताइएको छ ।
वैज्ञानिकहरूले नांगो आँखाले जुनसुकै पनि ग्रहण हेर्न नहुने तर्क राख्छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks