Loving nepal news

Saturday, January 23, 2010

राष्ट्रिय सरकार नबने उच्चस्तरीय राजनीतिक संयन्त्रको

रक्षामन्त्रीको हालैको अभिब्यक्ति शान्तिसम्झौता र अन्तरिम संविधान विपरीत भएको
विजय नेपाल पोखरा, ९ माघ

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार नबने उच्चस्तरीय राजनीतिक संयन्त्रको अस्तित्व समाप्त हुने बताएका छन् । एकीकृत नेकपा माओवादी तमुवान राज्य समितिले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी उपाध्यक्ष डा. भट्टर्राईले सो कुरा बताएका हुन् ।
उनले भने, "संयन्त्रले राजनीतिक गतिरोध अन्त्यका लागि सकारात्मक सन्देश दिएको छ, तर माओवादी नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्न संयन्त्र असफल भए त्यसको कुनै औचित्य छैन ।"
अनिश्चितकालीन आमहड्तालका कार्यक्रम स्थगितसँगै माओवादीले पेस गरेको छ बुँदे एजेण्डाहरु संयन्त्रले सम्बोधन गर्नेमा उनले विश्वास ब्यक्त गरेका छन् । माओवादीले उठाउँदै आएको नागरिक सर्वोच्चता र राष्ट्रपति कदमको विषयले संयन्त्रमा प्रवेश पाएकाले निकाश निस्कने अपेक्षामा पार्टीले घोषणा गरेको आमहड्ताललाई फिर्ता लिइएको उनले बताए ।
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन र तोकिएकै मितिमा संविधान निर्माणका लागि माओवादी नेतृत्वमा नै राष्ट्रिय सरकार गठन हुनुपर्ने अहिलेको आवश्यकता भएको दाबी गर्दै माओवादी उपाध्यक्ष डा. भट्टर्राईले यसबीचमा राज्यको पुनर्सरचना र शक्तिको बाँडफाँट हुनुपर्नेमा जोड दिए ।
उनले भने, "अन्य मुलुकको उदाहरण हेरौ, जहाँ पनि दुइ शक्तिबीच पावर शेयरिङ नभएको घटना छैन, तर यहाँका राजनीतिक पार्टीले संविधानसभामा ४० प्रतिशत मत पाएको माओवादीलाई पाखा लगाएर एकलौटी ढंगले काम गर्दैछन्, त्यो हामीहरुलाई मान्य हुँदैन ।"
रक्षामन्त्रीको हालैको अभिब्यक्ति शान्तिसम्झौता र अन्तरिम संविधान विपरीत भएको आरोप लगाउँदै उनले भने, "यस्तो अभिब्यक्ति दिने रक्षामन्त्रीलाई बर्खास्त गर्नुपर्छ ।"
माओवादी लडाकूलाई नेपाली सेनामा समायोजन गर्न सकिदैन भन्ने रक्षामन्त्री विद्या भण्डारीको अभिब्यक्तिलाई सरकारले लुरेपारामा आधिकारिक भनाई हैन भन्नु 'तँ रोएजस्तो गर, म पिटेजस्तो गर्छु हो' उनले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks