काठमाडौं, १२ माघ (दैनिकी)
लडाकुको रेखदेख, पुनस्र्थापना र समायोजनसम्बन्धी विशेष समितिले माओवादी लडाकुको समायोजन तथा व्यवस्थापनका लागि 'चेन अफ कमान्ड'को खाका तयार पारेको छ ।
मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा बसेको समितिको बैठकले तयार पारेको 'चेन अफ कमान्ड'मा नेपाल सरकारको मातहतमा विशेष समिति, विशेष समितिको मातहतमा सचिवालय र प्राविधिक समिति, सचिवालय मातहतमा अनुगमन टोलीहरू र अनुगमन टोली मातहतमा मुख्य शिविर र सहायक शिविरहरू रहेका छन् ।
समितिका सदस्य डा. रामशरण महतले 'चेन अफ कमान्ड'को खाका तयार भए पनि यसको अन्तिम टुङ्गो भने आगामी बैठकले मात्र गर्ने जानकारी दिनुभयो ।
बैठकमा 'चेन अफ कमान्ड' र सचिवालयको खाका तयार पार्ने सम्बन्धमा नै विस्तृत छलफल भएको डा. महतले बताउनुभयो । सोही बैठकले सातदेखि नौवटा सचिवालय स्थापना गर्ने निर्णय पनि गरेको छ ।
समितिका अर्का सदस्य जीतेन्द्र देवले सचिवालयमा को को रहने भन्नेबारेमा अन्तिम निर्णय नभए पनि एकजना संयोजकको नेतृत्वमा चारजना विज्ञसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र माओवादी लडाकुको एक/एकजना प्रतिनिधि रहने निर्णय भएको बताउनुभयो ।
यसअघि आइतबार बसेको समितिको बैठकले लडाकुको समायोजन तथा व्यवस्थापन गर्न सचिवालय स्थापना गर्ने र त्यसैको मातहतमा लडाकुलाई राख्ने सैद्धान्तिक सहमति गरेको थियो ।
यसैगरी, राससका अनुसार विशेष समितिका सदस्य जनार्दन शर्माले कार्ययोजनाका बारेमा विस्तृत छलफल भएको र बिहीबार बस्ने बैठकले त्यसको अन्तिम टुङ्गो लगाउने बताउनुभयो ।
कति सङ्ख्यामा माओवादी लडाकुलाई सेनामा समायोजन गरिने निर्णय भयो भन्ने पत्रकारको जिज्ञासामा नेता शर्माले लडाकुको सङ्ख्या, मापदण्ड, विधिका बारेमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा सैद्धान्तिक सहमति गरेर निर्णय गरिने जानकारी दिनुभयो ।
चेन अफ कमान्डको प्रमुखमा को व्यक्ति बस्नेभन्नेबारेमा विशेष समितिले नै निर्णय गर्छ भन्दै माओवादी नेता शर्माले विषयको संवेदनशीलतालाई बुझेर गम्भीर छलफल भइरहेकाले निर्णय हुन समय लागेको हो भन्नुभयो ।
उहाँले विशेष समितिले निर्णय नगरी यति सङ्ख्यामा लडाकुलाई सेनामा समावेश गर्न सकिन्छ भनेर दलका नेताहरूलाई नबोल्न आग्रह गर्नुभयो ।
समितिका प्रवक्ता एवं मुख्यसचिव माधवप्रसाद घिमिरेले चेन अफ कमान्डका बारेमा राखिएको दफामाथि छलफल सकिएको जानकारी दिँदै आगामी बैठकले अन्य निर्णय गर्ने बताउनुभयो ।
(गोरखापत्रबाट)
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks